सुदूर नेपाललाई विश्वसँग जोड्दै

कंगोमा इबोलाको महामारी नियन्त्रण गर्न अझै तीन बर्ष लाग्ने

। फोटो स्रोत ।
२०७६ साउन १८, ०१:३२

कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने भएको छ। इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले पूर्णरुपमा नियन्त्रण गर्न तीन वर्ष लाग्ने जनाएको हो। समन्वय समितिका जो ज्याक्स मुएम्बीले इबोलाको महामारी नियन्त्रण गर्न गम्भीर चुनौतीहरु देखिएको बताए। उनले इबोला महामारी नियन्त्रणका लागि अहिले गरिएको भन्दा थप प्रयासको खाँचो रहेको स्पष्ट पारे।

अहिले पहिचान भएको जति नै इबोलाको संक्रमण पहिचान भन्दा बाहिर रहेको हुन सक्ने र त्यसले समस्या विकराल बन्ने उनको चेतावनी छ। रुवान्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ। यो हप्ता इबोलाका कारण निधन भएका गोमाका एक व्यक्तिका १० सन्तान रहेको र अरु धेरै व्यक्तिमा पनि संक्रमण फैलिएको उनले बताए। इबोलाका कारण कंगोमा १ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

यसबाट २ हजार ७ सयभन्दा बढी संक्रमित छन्। कंगोको इतिहासमा यो हालसम्मकै भयानक इबोला संक्रमण हो। कंगोमा जारी हिंसाका कारण इबोलाविरुद्धको अभियानमा समस्या छ। यो हप्ताको सुरुमा रुवाण्डाले संक्रमण फैलिन सक्ने भयमा कंगोसँगको सीमा क्षेत्र आंशिक रुपमा बन्द गरेको छ। 
 

कमेन्ट लोड गर्नुस