सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा आरक्ष पीडितको यसै वर्ष पुनर्स्थापना गर्ने प्रधानमन्त्रीको आश्वासन

२०७६ साउन १७, ०५:५८ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष र हालको राष्ट्रिय निकुञ्जबाट विस्थापित भएकाहरुलाई यसै वर्ष पुर्नस्थापना गरिने आश्वासन दिएका छन्। सुदूरपश्चिमबाट प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरुको प्रतिनिधित्वमा गएको टोलीको ज्ञापनपत्र बुझ्दै ओलीले वषौँदेखि पुर्नस्थापना हुन नसकेका शुक्लाफाँटाआरक्ष पीडतको समस्या यसै वर्ष भित्र समाधान गरिने आवश्वासन दिएका हुन्।

प्रधानमन्त्री ओलीले आरक्षबाट विस्थापितहरुलाई  पुनःस्थापित गर्न विगतमा गठन गरिएका आयोगले भिन्न भिन्न प्रतिवेदन बुझाउदा समस्या भएको जनाउदै यो आर्थिक वर्षमा छानविन गरी समस्या समाधान गरिने आश्वासन दिएका हुन्। उनले स्वतन्त्र छानविन समिति गडन गरेर पीडितको उचित पुनःर्स्थापना गरिने बताए।

संघीय संसदमा पेश भएका भूमी सम्बन्धी आठौं संशोधन विधेयक र वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्न र आरक्ष पीडितको समस्या समाधान गर्न सुदूरपश्चिमबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले प्रधानमन्त्री समक्ष माग गरेका थिए।  

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले लामो समयदेखि जग्गाको नाप नक्सा भएका,  ऐलानी जग्गा भोगचलन गरी बसोबास गर्दै आएका किसानको जग्गाको नाप नक्सा गरी सहुलियत राजस्वमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् भने शुक्लाफाँटा वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार गर्दा त्यहाँभित्र बसोबास गरिरहेका परिवारहरुलाई अर्को ठाउँमा जमिनको व्यवस्था  गरी समस्या समाधान गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति कुन्ती कुमारी जोशीको नेतृत्वमा नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ, प्रदेशसभा सदस्यहरु महेशदत्त जोशी, चुनकुमारी चौधरी लगायतले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझाउन प्रतिनिधीसभा सांसदहरु नरबहादुर धामी, निरुदेवी पाल, विना बुढाथोकी, पूर्व सांसद कृपाराम राना, बेदकोट नगरपालिकाका उप प्रमुख सुशीला सिंह लगायतका सरोकारवाला समेत वालुवाटार पुगेका थिए।  

कमेन्ट लोड गर्नुस