सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याङ्करको लकिङ प्रणाली तोड्दै ६ सय लिटर बराबरको पेट्रोल चोरी

। फोटो स्रोत ।
२०७६ साउन १६, ०६:१२

नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरबाट अत्याधुनिक लकिङ प्रणाली तोड्दै ६ सय लिटर पेट्रोल चोरी भएको छ। भारतको बरौनीबाट करीब ४०० किलोमिटर यात्रा गरेर थानकोट डिपो आइपुगेको एउटा ट्याङ्करबाट ६०० लिटर तेल गायब भएपछि गरिएको अनुसन्धानबाट चोरी पत्ता लागेको हो।

साउन ८ गते बुधबार भारतको बरौनी डिपोबाट पेट्रोल भरेर नेपालका लागि हिँडेको ना ४ ख ५६२६ नम्बरको ट्याङ्कर साउन १४ गते निगमको थानकोट डिपोमा आइपुग्यो। तर थानकोट आइपुग्दा ट्याङ्करबाट ६ सय लिटर तेल चोरी भइसकेको थियो।

पेट्रोल चोरी भएको पत्ता लागेपछि निगमले ट्याङ्कर चालक सागर गुरुङलाई नियन्त्रणमा लिएको छ भने ट्याङ्कर डिपोमै राखेको छ। चालक र ट्याङ्करलाई कारबाहीका लागि आयल निगममा पत्राचार गरिसकेको थानकोट डिपो प्रमुख भरत रेग्मीले बताए।

रेग्मीका अनुसार २० हजार लिटर तेल अटाउने ट्याङ्करमा चार वटा च्याम्बर हुन्छन्  एउटा च्याम्बरमा ५ हजार लिटर अटाउँछ। चार वटा च्याम्बरमध्ये २ वटामा कम इन्धन भेट्टिएपछि तेल चोरी भएको पत्ता लागेको हो। डिपो पाइपको वरिपरि सानो प्वाल हुनुपर्ने थियो तर प्वाल भएको पाइपमा अर्को पाइप राखेर चालकले प्वाल नै नदेखिने बनाएको बताइएको छ।

यसअघि पनि गत माघमा इन्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजेल चोरी भएको घटना सार्वजनिक भएको थियो।तर निगम भने एकाध घटनालाई उठाएर पुरै प्रणालीमा समस्या रहेको भन्न नमिल्ने दाबी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस