सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र राजनीतिक दलबीच सहमति

। फोटो स्रोत ।
२०७६ साउन १६, ०६:०५

प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाका रिक्त रहेका स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएको छ। तीन तहको चुनाव एकै दिन गर्ने विषयमा दलका नेताहरुसँग छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए। आयोगका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ। यस्तै विभिन्न ३८ ओटा वडामा पनि जनप्रतिनिधि छैनन्। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद कार्यकाल सकिन ६ महिना बाँकी हुँदै रिक्त भएमा उप–चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ। पालिकामा भने एक वर्षभन्दा बढी अवधि बाँकी रहेमात्रै उप–चुनाव हुने व्यवस्था छ। निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र पालिकामा प्रतिनिधित्व गरेका विभिन्न १८ दलका प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा आगामी मंसिरमा एकै दिन सबै तिर उप–चुनाव गर्ने गरी काम गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता खरेलले बताए। 

दलहरुले मंसिरमा उप–चुनाव गर्ने प्रस्ताव गरेको र त्यो मितिमा उप–चुनाव गर्न आयोग तयारी अवस्थामा रहेको बताएको प्रवक्ता खरेलले जानकारी दिए। मंसिरमा उप–चुनाव गर्ने विषयमा आयोग र दलका प्रतिनिधिबीच सहमति भए पनि निर्धारित मिति भने सरकारसँग परामर्श गरेपछि मात्रै तोकिने उनले बताए।

पालिकाको उप–चुनावको मिति तोक्ने अधिकार सरकारलाई रहेकाले सरकारले मिति तोक्ने र प्रदेश र संघीय उप–चुनावको मिति तोक्ने अधिकार भने आयोगलाई रहेको प्रवक्ता खरेलले बताए। आयोग पहिलेदेखि नै रिक्त रहेका स्थानमा उप–चुनावका लागि तयारी अवस्थामा रहेकाले जति बेला मिति तोकिए पनि चुनाव गराउन सकिने उनले बताए।

कमेन्ट लोड गर्नुस