सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार विभागले तोक्यो १२ आयातीत वस्तुको अधिकतम बिक्री मूल्य

। फोटो स्रोत ।
२०७६ साउन १६, ०१:४०

भन्सार विभागले १२ प्रकारका आयातीत वस्तुको खरिदमा भन्सार विन्दुमै अधिकतम खद्रा बिक्री मूल्य (एमआरपी) घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ। यससँगै यी वस्तुहरुमा उपभोक्ता ठगिने स्थिति अन्त्य भएको विभागको दाबी छ। अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस, मार्वल ग्रेनाईट र टायल, कुकिङ रेन्ज, चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सबै प्रकारका सवारी साधनहरु कतिमा बेच्ने भन्ने निधो व्यवसायीले भन्सार विन्दुमै गर्नु पर्नेछ। आर्थिक ऐन २०६८ को व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्रीले निर्णय गरेको ६ वर्ष १० महिनापछि भन्सार विभागले कार्यान्वयनमा ल्याएको हो।

व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गरे कालोबजारी गरेको मानिने भएकाले यो व्यवस्थापछि उपभोक्ता ठगिने क्रम अन्त्य हुने विभागका महानिर्देशक रामेश्वर दंगालले बताए। महानिर्देशक दंगालका अनुसार उल्लेखित वस्तुहरुको एमआरपी विभागको वेबसाइटमा राखिनेछ। ग्राहकले खरिद गरेका यस्ता वस्तुको मूल्यमा आफूले महँगो मूल्य तिरेको महसुस गरे वेवसाइटमा उल्लेखित मूल्यसूची हेरेर जानकारी लिन सकिने विभागले जनाएको छ। यस्तो व्यवस्थापछि बजार अनुगमन गर्न पनि सजिलो हुने विश्वास विभागको छ।

भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य घोषणा गर्ने वस्तुहरुको सूची विस्तार गर्न विभागले थप अध्ययन पूरा गरेको छ। विभागका महानिर्देशक दंगालका अनुसार एक अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि विभागले अध्ययन गरिरहेको छ। जनमानसमा अत्यधिक प्रयोग गरिने केही वस्तुहरुको यस्तो सूची यसै वर्ष प्रकाशन गर्ने तयारीमा आफूहरु रहेको महानिर्देशक दंगालले बताए। सम्भवतः सबै प्रकारका लत्ता कपडा र श्रृंगार सामानमा यस वर्ष अधिकतम बिक्री मूल्य घोषणा हुनेछ।
 

कमेन्ट लोड गर्नुस