सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिको सीमा क्षेत्रमा पर्खाल लगाउन साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला

। फोटो स्रोत ।
२०७६ साउन ११, ०२:१९

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ। योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत भएको छ। मेक्सिकोसँगको सीमाका केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी गरिरहेका बेला परेको उजुरीमा सर्वोच्च अदालतले खर्च गर्न सक्ने फैसला गरेको हो।

यसअघि क्यालिफोर्नियाको संघीय अदालतले राष्ट्रपति ट्रम्पले देशको दक्षिणी क्षेत्रमा सीमा पर्खाल बनाउनका लागि पेन्टागनको रकम खर्चिन नपाउने फैसला गरेको थियो। तर सर्वोच्च अदालतले क्यालिफोर्निया अदालतको फैसलाको विपक्षमा आफ्नो निर्णय सुनाएको हो। सर्वोच्चमा ट्रम्पको पक्षमा पाँच तथा विपक्षमा चार मत भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

ट्रम्पले सन् २०१६ मा चुनावी अभियानका क्रममा मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेका थिए। तर डेमोक्र्याट सांसदहरुले ट्रम्पको योजनालाई अस्वीकार गर्दै आएका छन्। कंग्रेसमा अवरोध भएपछि ट्रम्पले पेन्टागनको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्ने घोषणा गरेका थिए। सर्वोच्चको फैसलासँगै अब पेन्टागनको २ अर्ब ५० करोड डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउनका लागि प्रयोग हुनेछ।

यसैबीच ट्रम्पले सर्वोच्चको फैसलालाई आफ्नो ठूलो विजयका रुपमा ब्याख्या गरेका छन्। उनले ट्वीट गर्दै सीमाको सुरक्षा र कानुनी शासन प्रत्याभूति गराउन आफ्नो जित भएको बताएका छन्।  
 

कमेन्ट लोड गर्नुस