सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप एसिया छनोट : नेपालद्धारा कुवेत ७ विकेटले पराजित

। फोटो स्रोत ।
२०७६ साउन ११, १०:२८

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन्। 

त्यस्तै शरद भेषावकरले  नटआउट ३८ रन बनाए। उनले ३० बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाएका हुन्। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन बनाएर आउट भए। रोहित पौडेल ६ रनमा नटआउट रहे। कुवेतका लागि मुहम्मद कासिफले ३ विकेट लिए। यसअघि सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धा्रित ओभरमा ९ विकेट गुमाउँदै १४१ रनको सम्मानित योगफल खडा गरेको थियो। 

करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट पतन सुरु भएको थियो। छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो। रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले।

नवौं ओभरमा युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिए। उनले ८.३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए। ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे। उनले खाता खोल्न सकेनन्।

१३।५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो। त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे। अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे। जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए। 

कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फोटक अविजित पारी खेले। उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १  चौका र २ छक्का प्रहार गरे। अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो। नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३–३ विकेट लिए। त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए।

जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आइतबारको खेलमा सिंगापुरलाई हराएमा विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ।
 

कमेन्ट लोड गर्नुस