सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेल्फी लिन खोज्दा नदीले बगाएर एक युवतीको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १०, ०८:०१

रामेछापमा नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको नदीले बगाएर मृत्यु भएको ेछ।
लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–७, हलेदेमा नदी किनारमा सेल्फी खिच्न गएकीे भक्तपुर कमलविनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको सेल्फी खिच्ने बेलामा तामाकोशीले बगाएर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि जाँदै थिइन्।
रामेछापको सदरमुकाम मन्थलीवाट दोलखातर्फ जाने क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ तिल्पुङ्गको हलेदे भन्ने ठाउँमा सेल्फी खिच्ने क्रममा उनको चप्पल चिप्लिएर तामाकोशी नदीमा खसेकी थिइन्। १ किलोमिटर तल मन्थली नगरपालिका वडा नम्बर–१, आकाशेको पक्की पुलनजिक बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयले दिएको खबर पाउनासाथ मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाट गएको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो। उनको अवस्था चिन्ताजनक भएकाले तत्कालै मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।
कमलविनायक घर भएकी शर्मिला भक्तपुरकै दूधपाटीमा रहेको रोज डेन्टलमा कार्यरत थिइन्। उनी कार्यरत रहेको रोज डेन्टलका डाक्टर, मृतक शर्मिलाकी दिदीसहित उनी दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि भक्तपुरबाट शुक्रबार बिहान हिँडेका थिए। उनीहरु कारमा रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखा जाँदै गर्दा सबै जना मिलेर बाटोमा सेल्फी, सामूहिक तस्वीर खिच्दै जाँदै थिए। 
घटनापछि प्रहरीले उनीसँगै आएका डाक्टर, उनकी दिदीलगायतको टोलीसँग सोधपुछ गरी  आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस