गुल्मीमा पहिरोमा पुरिएका १३ जनाको शव निकालियो
गुल्मीको सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएका १३ जनाको शव निकालिएको छ। पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनाकै शव निकालेर परिवारको जिम्मा लगाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।
पहिरोमा पुरिएर हराइरहेकी लिम्घाकी ८ वर्षीया तारा विकको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान निकालेको हो। गएको सोमबार राति वर्षापछि आएको पहिरोका कारण सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गरी ६ सय भन्दा बढी स्थानीय विस्थापित बनेका छन्।
विस्थापित भएकाको तत्कालका लागि अस्थायी क्याम्प निर्माण गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। विस्थापितहरुका लागि खाद्यान्नको समस्या भएपछि बुधवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो।