सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोटमा कतारसँग नेपाल ४ विकेटले पराजित

। फोटो स्रोत ।
२०७६ साउन ७, १२:१९

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाल कमजोर टोली कतारसँग ४ विकेटले पराजित भएको छ। आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो। 

१२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। उसका लागि ओपन इनाम उल हकले ४१ रन प्रहार गरेका थिए। कतारले विष्टफोटक सुरुवात गरेको थियो। सोमपाल कामीले पहिलो ओभरमै १३ रन खर्चेका थिए। दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए। उनले फैसाल जावेदलाई १ रनको स्कोरमै सोमपालको हातबाट क्याच आउट गराएका थिए। 

४.१ ओभरमा कतारले दोस्रो विकेट गुमायो। २ छक्का र २ चौका बनाएर खेलिरहेका कमरान खानलाई करणले आफ्नो स्पेलको पहिलो बलमै आउट गरेका हुन्। त्यसपछि सन्दीपले थप २ विकेट लिए। १०औं ओभरमा मोहम्मद तानवीरलाई ११ रनको स्कोरमा आउट गरेका सम्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा जाहिर इब्राहिमलाई १२ रनको स्कोरमा शरद भेषावकरको हातबाट क्याच आउट गराए। १२ ओभरको समाप्तिमा कतारको स्कोर ८६–४ थियो।

त्यसपछिका ३ ओभरमा दीपेन्द्र सिंह ऐरीले २ महत्वपूर्ण रनआउट लिएपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो। उनले १३.३ ओभरमा उलहकलाई रनआउट गरे। उलहकले ३२ बलमा ६ चौका प्रहार गरेका हुन्। त्यसको अर्को ओभरमा कप्तान तामूर सज्जादलाई ९  रनको स्कोरमा रनआउट गरे। कतारका मोहम्मद रिज्लान र नाउमन सरवारले सातौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरी जित दिलाएका हुन्। सरवारले १५ र रिज्लानले ९ रनको अविजित पारी खेले।

यसअघि इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो। १० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए। उनीहरुले ४९ रनको साझेदारी गरेका थिए। 

छैटौं ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए। उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए। 

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके । औँलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लागि सर्वा्धिक ३४ रनको पारी खेले। उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे। 

रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे। नेपालको पुछार क्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो। विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता खोल्नै सकेनन्। सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए।

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो। पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो। बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस