सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसएपमाथी अनुसन्धान गर्न आग्रह

। फोटो स्रोत ।
२०७६ साउन २, ०२:२४

फेसएपमाथी अनुसन्धान गर्न अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले आग्रह गरेका छन्। एप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेको भन्दै शुमरले यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडेरल ट्रेड कमिसनसँग आग्रह गरेका हुन्।

ट्वीटरमा एक पत्र पोस्ट गर्दै शुमरले फेसएपलाई ‘गम्भीर समस्या’ को संज्ञा दिंदै फेसएप असुरक्षित रहेकाले आफ्ना देशका नागरिकको डाटा सत्रूतापूर्ण सम्बन्ध भएका देशले लैजानसक्ने चिन्ता उनले पत्रमार्फत व्यक्त गरेका छन्।

रसियन कम्पनीले निर्माण गरेको यो एप यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साविकको तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने यो एप्सको प्रयोग बढेसँगै प्रयोगकर्ताको गोपनीयताको विषय बहसमा छ।

तर, फेसएप निर्माणकर्ता रसियन कम्पनीले आरोप अस्वीकार गर्दै आएको छ। एप्सको प्रयोगबाट व्यक्तिको गोपनीयतामा कुनै खतरा नरहेको निर्माणकर्ताको दाबी छ। प्रयोगकर्ताको इमेज लामो समयसम्म नरहने उल्लेख गर्दै कुनै डाटा संकलन नगर्ने फेसएपको भनाइ छ। एपले प्रयोगकर्ताले इडिट गर्न चाहेको तस्वीर मात्रै अपलोड गरिदिने उसको दाबी छ।

‘प्रयोगकर्ताको डाटा रसियामा स्थानान्तरण हुँदैन’, फेसएप निर्माणकर्ता कम्पनीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै टेक क्रन्चले लेखेको छ। यद्यपि, शुमरले एफबीआई र फेडेरल ट्रेड कमिसनलाई यसमाथि अनुसन्धान गर्न आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस