सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ सय बिजुली बस किन्न साझा यातायातलाई ३ अर्ब रुपैँया प्रदान

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ साउन १, ०७:३०

सरकारले ३ सय बिजुली बस ल्याउनका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ प्रदान गरेको छ। सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको हो।

यसअघि प्राधिकरण गठन गरी सोमार्फत ३ सय बिजुली बस खरिद गर्ने भनिए पनि साझाले नै बस खरिद गर्ने जिम्मा पाएको हो। मन्त्रिपरिषद बैठकले नै साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो। मन्त्रालय स्रोतका अनुसार साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिदिएको छ। ‘आफुले तोकेको स्पेसिफिकेसनमा रहेर साझाले बसहरु खरिद गर्ने  मन्त्रालय स्रोतले बताएको छ।

चार्जिङ क्षमता, सिट संख्यालगायतका स्पेसिफिकेसन मन्त्रालयले नै तोकेको छ। मन्त्रालयले भोलि बिहीबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिने भएको छ। साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भएको जानकारी दिए। सोवापत सरकारले साझाको सेयर प्राप्त गर्नेछ।

यसअघि बिजुली बस खरिदकै लागि साझाले प्रदेश ३ सरकार, काठमाडौं महानगर र ललितपुर महानगरबाट साढे ४२ करोड रुपैयाँ प्राप्त गरेको छ। प्रदेश ३ ले ३० करोड, काठमाडौं महानगरले १० करोड तथा ललितपुर महानगरले साढे २ करोड रुपैयाँ प्रदान गरेका हुन्। सरकारले आगामी ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ। निजी क्षेत्रलाई समेत विद्युतीय सवारी संचालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उद्देश्यले सरकारले भन्सार शुल्कमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।

अर्कोतर्फ पेट्रोल र डिजलबाट चल्ने सवारी साधनका लागि बैंकबाट दिइने गरेको ट्रस्ट रिसिप्ट ऋणलाई समेत ६ महिना बन्द गर्ने सरकारको कार्ययोजना छ। सो कार्यायोजनाले बिजुलीका सवारी साधन आयात र संचालनलाई प्रोत्साहन मिल्ने सरकारले दाबी गरेको छ।

कमेन्ट लोड गर्नुस