सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालनमा

। फोटो स्रोत ।
२०७६ साउन १, ०१:२७

वर्षा र बाढीका कारण अवरुद्ध भएका धेरैजसो सडक खुलेका छन्। सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट लगायतका ठाउँमा अवरुद्ध भएका धेरैजसो सडक खुलेका हुन्। पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत सञ्चालनमा आएको छ। सो ठाउंमा तत्काल नयाँ बेलिब्रिजसमेत जडान गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ। 

यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी–जोमसोम सडकमा पनि एकतर्फी रुपमा आलोपालो गरी गाडी चल्न थालेका छन्। पृथ्वी राजमार्गमा र त्रिभुवन राजपथमा कतै पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। काठमाण्डौबाट सिस्नेरी र  फाखेल हुँदै हेटौँडा जाने बाटो भने अझै सञ्चालनमा आउन सकेको छैन। यो बाटो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रौतहट र महोत्तरीका सडकमा पनि पानीको मात्रा घट्दै गएपछि बाटो खुलेको छ। अवरुद्ध बीपी राजमार्गमा पनि यातायात सञ्चालनमा आएको छ।

मध्यपहाडी राजमार्गको सिन्धुली क्षेत्रमा बहादुरे खोला, सोलु खोला र खाङसाङ खोलामा आएको पहिरोले पहिरोले अवरुद्ध राजमार्ग पनि सञ्चालनमा आएको छ। ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा पनि अवरोध हटाउने काम भइरहेको सडक विभागले जानकारी दिएको छ। यस्तै, बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन्।

यसैबीच काठमाण्डौसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार ठाउँमा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर काठमाण्डौसँग सम्पर्क टुट्न नदिनेगरी तयारी भैरहेको सेनाले जनाएको छ। सेनाका अनुसार काठमाण्डौको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जीतपुरमा एक्रोबिज तयारी अवस्थामा राखिएको हो। बाढी पहिरोले सडक भत्किएको ठाउँमा एक्रोबिज राखेर गाडी चलाउन सेनाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस