सुदूर नेपाललाई विश्वसँग जोड्दै

१ लाख ८० हजार घुससहित सिँचाइ डिभिजन प्रमुख पक्राउ

। फोटो स्रोत ।
२०७६ असार ३०, ०४:१५

भोजपुरका सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा सोमबार मध्यान्ह १२ बजेतिर अख्तियारले पक्राउ गरेको हो। 

षडानन्द नगरपालिका वडा नं. १३ मा रहेको छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस लिएको बताइएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको झण्डै ९८ लाख लागत अनुमान रहेको  सिँचाइ आयोजनाको यो वर्ष १७  लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ। उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्यांकन गरी बिल पास गरिदिने बताउँदै आएका थिए।

आर्थिक वर्षको अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छोडेर हिंडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू भदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले त्यही होटलबाट उनीहरुलाई रंगेहात पक्रेको हो।

भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखा खुरिलास्थित सिँचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले बाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको सो सिँचाइ आयोजनाका उपभोक्ता एवं नेपाली कांग्रेस भोजपुरका सचिव चक्रबहादुर कार्कीले बताए। 

कमेन्ट लोड गर्नुस