सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्ने ७ जना युवालाई सम्मान

। फोटो स्रोत ।
२०७६ असार २९, ०५:५२

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ। आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ६ व्यवसायका ७ जना उद्यमीहरुलाई सम्मान गरेको हो। एकजना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु ६ जना उद्यमी पुरस्कारबाट सम्मानित भएका छन्। 

सम्मानित हुनेहरुमा कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्मका सञ्चालक नवराज पौड्याल नगद एक लाख रुपैयाँसहित उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भएका छन्।

यस्तै डाइमण्ड स्टील उद्योगका सञ्चालक दीपक चापागाईँ, मैत्रीमंगल अर्गानिक कृषि फर्मका सञ्चालक निरबहादुर रावत र एकबहादुर सिङताङ, फिट वेल गार्मेन्ट उद्योगका सञ्चालक मनोजकुमार भारती, रामलक्ष्मण कृषि फर्म र राउत एण्ड सन्स बहुउदेश्यीय कृषि तथा पशुपालन फर्मकी सञ्चालिका शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योगका सञ्चालक त्रिलोक पनेरु ५० हजार रुपैयाँसहित उद्यमी पुरस्कारबाट सम्मानित भएका हुन्।

सम्मानित हुने सबै उद्यमीहरुले १५ देखि ९५ जनालाई रोजगारी दिएका छन्। सबैभन्दा बढी फिट वेल गार्मेन्ट उद्योगले ९५ जनालाई र कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्मले ४८ जनालाई रोजगारी प्रदान गरेका छन्।
सम्मानित हुने उद्यमीहरुमध्ये दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्किएका हुन्। यस्तै शर्मिला अधिकारी र निरबहादुर रावत यूएईबाट फर्किएका हुन् भने एकबहादुर सिङताङ मलेसिया र नवराज पौड्याल दुबईबाट फर्किएका हुन्। उनीहरुलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सम्मान तथा पुरस्कार वितरण गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस