सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारप्रति धनगढीका युवामा देखिएको वितृष्णा

२०७६ असार २९, ०५:०२ खबर संवाददाता

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरथ प्रतिक जोशी शनिवार धनगढीमा भईरहेको फायरवुड कन्क्लेभमा सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका समृद्धीका योजना सुन्दै थिए। युवाहरुले भरिएको ओम प्यालेसको हलमा अर्थ मन्त्री बोहराले दुई हजार युवालाई स्वरोजगार बनाउनेदेखि शैक्षिक ऋणको योजना समेत सुनाए। मन्त्रीको योजना सुनिसकेपछि जोशीलाई प्रश्न गर्ने मन लाग्यो र माईक माग्दै आफ्नो जिज्ञासा राख्न सुरु गरे। ‘मन्त्री ज्यू तपाईले स्वरोजगारको कुरा गर्दै हुनुहुन्छ, म कैलाली बहुमुखी क्याम्पसमा पढ्दै गर्दा गेट बाहिर स्वरोजगारको नाममा भाङका बोट उखेलेको देखिरहेको हुन्छ, के यसरी नै हो युवालाई स्वरोजगार बनाउने ?’ उनले अगाडी थपे– ‘शैक्षिक ऋणको कुरा गर्नुभयो, कति जनाले शैक्षिक ऋण पाए तथ्याङक छ तपाईसंग ?’ उनले गुनासो पोख्दै भने– १८ महिनामा समृद्धी त परै जावस मन्त्री ज्यूहरुको गोडाको चाल समेत सुरु भएको छैन्। उनले प्रदेश सरकारले कार्यकर्ता पाल्ने कार्यक्रम ल्याएर समृद्धीको सपना देखाईरहेको आरोप लगाए। 

कार्यक्रममै सहभागी जुनियर जेसिज धनगढीका अध्यक्ष सन्तोष पन्तले पनि स्वरोजगार कार्यक्रमका नाममा भईरहेको बजेट सिध्याउने खेल बारे जिज्ञासा राखे। ‘विदेशमा पठाउनका लागि सुदूरपश्चिम सरकारले भाषा सिकाउने भन्दै २५ लाख विनियोजन गरेको छ,’ उनले प्रश्न गर्दै भने– ‘के प्रदेश सरकारले यसरी नै युवाहरुलाई आफ्नै प्रदेशमा रोजगारको व्यवस्था गर्न सक्छ ?’ 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहरा, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड, साझा पार्टीका प्रवक्ता डाक्टर सुर्यराज आर्चाय, नागरिक समूहका अध्यक्ष निगम हुमागाईस, सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल र ज्योति विकास बैँकका सिइयो मनोज ज्ञवालीसँग युवाहरुले प्रदेशको आर्थिक सम्वृद्धीका मुद्दाहरुको बारेमा अन्तरक्रिया गर्दा वर्तमान सरकारप्रतिको वितृष्णा छताछुल्ल भएको थियो। उनीहरुले अहिले झनै गाउँ–गाउँ सम्म भ्रष्टाचार भएको भन्दै व्यवस्था परिवर्तन केकालागि भन्दै जिज्ञासा समेत राखेका थिए। 

कार्यक्रममै सहभागी सुन्दर सुदूरपश्चिमका अभियान्ता, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले अहिलेकै अवस्थामा काम भए समृद्धीका लागि सय बर्ष कुर्नुपर्ने तर्क गरे। ‘देशमा व्यवस्था फेरिएपनि सही नीयत भएका नेताहरु आएका छैनन्,’ उनले भने, ‘विगतमा बजेट नभएर विकास र समृद्धी ल्याउन नसकिएको दावी गरिन्थ्यो, अहिले बजेट खर्च गर्न नसकेर समृद्धीको सपनामा धक्का लागिरहेको छ।’ उनले देशमा नीयत सही भएका नेताहरु नआएसम्म समृद्धी सम्भव नभएको बताए। 

प्रश्नको जवाफ दिने क्रममा अर्थ मन्त्री बोहरासंग न स्वरोजगारको तथ्याङक थियो न त शैक्षिक प्रमाणपत्रका आधामा ऋण पाएका युवाहरु कति छन् ? भन्ने विषयमा नै जानकारी थियो। मन्त्री बोहराले भाङ उखेलेर स्वरोजगार बनाउने कार्यक्रम संघीय सरकारको भएको बताउँदै सो कार्यक्रममा प्रदेशको कुनै संग्लनता नरहेको दावी गरे। उनले प्रदेशवासीले तिरेको करको सदुपयोग गर्दै समृद्धी र दिगो विकासको बाटो प्रदेश सरकारले तय गरिरहेको दावी गरे।

कमेन्ट लोड गर्नुस