सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसंग समन्वय गरी सीमा क्षेत्रमा रहेका बाँध खुलाइयो: प्रधानमन्त्री ओली

२०७६ असार २७, ०५:४८

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी नदीको बहाव खुलाइएको बताएका छन्। उनले भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा भारत सीमामा पानीको बहाव खुलाइएको बताएका हुन्।

सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो। उनले  ट्वीट गर्दै बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरेको बताएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मलंगवा नगरपालिकाको गोरखकाली भन्ने ठाउँमा थुनिएको पानीको बहावलाई खुलाइएको बताए। बागमती नदीका विभिन्न ठाउँमा बाँध फुटेर बस्ती जोखिममा परेको उनले बताए।

‘रामनगर, रौतहट क्षेत्र, छतकौनलगायत सात ठाउँमा बाँध फुटेको छ,’ उनले भने, ‘सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौं। जोखिममा परेका बस्तीबाट मानिसलाई सुरक्षित स्थान सारिएको बताइएको छ।’
 

कमेन्ट लोड गर्नुस