सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सिंहको परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

। फोटो स्रोत ।
२०७६ असार २६, ०५:१२

सरकारले सर्लाहिमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। गत असार १५ गते पूर्वपश्चिम राजमार्ग सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली सरोज सिंहको टाउकोमा लागेको थियो।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको बिल सरकारले तिरिदिने निर्णय भएको बताए।
 

कमेन्ट लोड गर्नुस