सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली जीप दुर्घटना : २२ दिनपछि उपाध्यक्षको शव भेटियो

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ असार २६, ०४:३४

कर्णाली नदीमा जीप दुर्घटना हुंदा वेपत्ता भएकाहरु मध्ये २२ दिनपछि गाउंपालिकाका उपाध्यक्षको शव फेला परेको छ। हुम्लाको खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परी बेपत्ता भएका गाउपाध्यक्ष सिन्धु शाही हमालको बुधबार शव फेला परेको हो।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन्। शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको जनाइएको छ।

शवको पहिचान गरेपछि सँगै गएका जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया र्पुयाएर  आफन्तलाई हस्तान्तरण गरेको प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताए।

असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए। बेपत्ता अरु अझै भेटिएका छैनन्। 

कमेन्ट लोड गर्नुस