सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद सरकारको छायाको रुपमा सीमित भयो : गगन थापा

२०७६ असार २५, ०६:१०

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाको रुपमा सीमित हुँदै गएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सरकारको छायाको रुपमा सीमित भएको र संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्। उनले सोही कुरालाई सभामुखले अनुशरण गरेको टिप्पणी गर्दै संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।

‘एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाको रुपमा सीमित रहेको बताउंदै उनले भने, सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन। संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ, यसले सभामुख दिनप्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ  भन्ने कुरालाई पुष्टि गरेको छ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन। सरकार यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ।’

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी गरे। उनले सर्लाहीका दुई भिन्न–भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको पनि स्पष्ट पारे।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छानबिन समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए।

कमेन्ट लोड गर्नुस