सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तारुढ सांसद जोशीको चेतावनी : आफ्नै भाईलाई वेवास्ता गरे सरकार धेरै टिक्दैन्

२०७६ असार २४, ०२:४३ खबर संवाददाता

सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्य महेशदत्त जोशीले आफ्नै सांसदलाई वेवास्ता गरेर सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन्। मंगलवार बसेको प्रदेशसभा बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिएका सांसद जोशीले यस्तो चेतावनी दिएका हुन्। जोशीले मुख्यमन्त्रीलाई संयुक्त हस्ताक्षर बुझाएका सत्तारुढ दलकै २५ जना प्रदेश सभा सदस्यलाई वेवास्ता गरे सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी दिए।

सदनमा चेतावनी दिदै जोशीले भने, ‘आफ्ना भाई गए सरकार धेरै दिन टिक्दैन् हेर्नुस्, भाईहरुलाई लक्ष्मण बनाउनुस, भरत बनाउनुस, शत्रुधन सम्म त बनाउनुस्, भाईहरु विभिषण भए के हुन्छ त्यो इतिहासले देखाउँछ।’जोशीले प्रतिपक्षी दलका सांसदसंग भएको भद्र सहमती गोप्य राख्नुको कारण माग्दै यस्तो चेतावनी दिएका हुन्।

आक्रोशित हुदै जोशीले भने, ‘भद्र भनेको के हो ? बुझ्ने अधिकार हामीलाई छैन्, यो सम्मानित सदनलाई जान्ने अधिकार छैन् ? सुदूरपश्चिमबासीका लागि भद्र हो भने यहाँ आउनु परेन ?’ उनले भने, ‘कम्बल मुनी लुकाएर घ्यूउ खाने त्यो भद्र चाहिदैन्, त्यस्तो भद्र मान्दैनौँ हामी जनप्रतिनिधी हौँ, राजिनामा गरेर पनि जनतामा जान्छौँ, धेरै साथीहरुले भनेको सुनेको छु।’ 

सरकारले प्रतिपक्षी दलका १४ सांसद र मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी आठ जनाको जोड घटाउ समेत भएको प्रसंग उल्लेख गर्दै उनले आठ भाई र १४ भाई मिलेमा २५ भाई चिल्लाराम हुने अवस्था आएको बताए। विपक्षी दल नेपाली काग्रेस र राजपाप्रति व्यग्य गर्दै उनले १४ भाईले कम्बल ओढेर घ्यूउ खाने नभई घ्यूउको कचौरा जनतालाई देखाउनुपर्ने बताए।

उनले बजेटप्रती असन्तुष्टि जनाई मुख्यमन्त्रीलाई बुझाईएको संयुक्त प्रस्तावमा आफूले पनि हस्ताक्षर गरेको प्रष्ट पारे। उनले भने, ‘मैले पनि हस्ताक्षर गरेको छु त्यसैले अब २५ भाईलाई पनि धेरै रुवाउन भएन, २५ भाईसंग पनि सम्झौता होस् सरकार।’ 
प्रतिपक्षी दल र सरकारबिच भएको भनिएको भद्र सहमतीलाई लक्षित गर्दैै जोशीले सरकारलाई भने, ‘पहिला आफ्नो घर बलियो बनाउनुस्, त्यसपछि छिमेकीसंग सल्लाह गर्नुस्, छिमेकीको घरमा अली कमै जानुपर्छ।’ 

प्रदेश सरकारले गत असार १ गते ल्याएको बजेट असन्तुलित रहेको भन्दै विरोध गर्दै २२ दिन सम्म संसद चल्न नदिएको प्रतिपक्षी दलसंग भद्र भनिएको सहमती भएपछि आईतबारदेखि प्रदेशसभा बैठक सुचारु भएको थियो। तर सरकारले भद्र सहमतीलाई देखाएर प्रतिपक्षीसंग भएको वास्तविक सहमती लुकाईएको भन्दै नेकपा भित्र फेरी असन्तुष्टि बढेको हो। यसअघि बजेटप्रती असन्तुष्टि जनाउँदै नेकपाका प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहितका २५ जना बहुमत सांसदले मुख्यमन्त्रीलाई संयुक्त हस्ताक्षर समेत बुझाईसकेका छन्।  

कमेन्ट लोड गर्नुस