सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ इस्टर्न रिजनको उपाधि नेपाललाई, एसिया कप खेल्ने

फोटो: एसिसि
फोटो: एसिसि
२०७६ असार २४, ०१:३९

नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ। मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। मलेसियाको किनरारा ओभलमा हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपाललाई विजय दिलाउनेक्रममा पवन सर्राफले ३९ रन बनाए। रित गौतम (१३) सँग पहिलो विकेटमा ७ ओभर भित्र ५२ रनको साझेदारी गरेका पवनले ३६ बल खेली ५ चौका र १ छक्का प्रहार गरे। खडकबहादुर बोहरा ८ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए। भिम सार्की ८ रन बनाई अविजित रहे।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो। उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन्। उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले १० ओभरमा ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए। कमल सिंह ऐरीले ३ विकेट लिए। यस्तै एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ। प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन्।

कमेन्ट लोड गर्नुस