सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रेनकोट र ग्यास चुलो वितरण

२०७६ असार २२, ०३:५० खबर संवाददाता

कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रेनकोट र ग्यास चुलो वितरण गरिएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्वर ४ का १५ जनालाई ग्यास चुलो र १५ जनालाई रेनकोट वितरण गरिएको हो। वडा नम्वर ४ का अध्यक्ष विरवहादुर खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न सामान खरिद गर्ने बजेटबाट रेनकोट र ग्यास चुलो खरिद गर्दै वितरण गरिएको बताए। उनले अपुग बजेट जनप्रतिनिधिहरुले समेत संकलन गर्दै वडाका विपन्न, दलित तथा महिलाहरुलाई ग्यास चुलो र रेनकोट बाडिएको बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्ड अनुसार दैनिक ८ घण्टा सम्म श्रम गर्नुपर्ने हो। तर गाउँपालिकाले ग्यास चुलो र रेन कोट वितरण गरेर बजेटको दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका छन्। कञ्चनपुरका स्थानीय मेवाराम चौधरीले सामाजिक सञ्जाल फेसवुकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ग्यास चुलो र रेनकोट वितरण गर्न पाईन्छ र ?’ भन्दै प्रश्न गरेका छन्। 

अधिकासं स्थानीय सरकारमा रोजगार कार्यक्रममा दैनिक २ देखि ३ घण्टा मात्रै काम हुने गरेको छ। यता बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धनवहादुर थापाले भने प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीलाई रेनकोट र ग्यास चुलो वितरण गरेपनि बजेट भने उक्त कार्यक्रमको नभएको दावी गरे। उनले गाउँपालिकाको अन्य छुट्टै शिर्षकको ६० हजार र बाँकी जनप्रतिनिधिले संकलन गरेको रकमबाटै रेनकोट र ग्यास चुलो बाडिएको दावी गरे। तर वडा नम्वर ४ का अध्यक्ष खड्काले भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै रेनकोट र ग्यास चुलो वितरण भएको बताए। 
 

कमेन्ट लोड गर्नुस