सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पूर्व अध्यक्षहरुको माग

२०७६ असार १९, ०५:३०

कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरुले गेटामा निर्माणाधिन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेका छन्। संघका पुर्व अध्यक्षहरु गोपाल हमाल, दिनेशराज भण्डारी र कर्णवहादुर कुँवरले आज सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मेडिकल कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेका हुन्। सुदूरपश्चिमवासीको लामो संघर्षपछि निर्माण भईरहेको मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयको चर्चा सुरु भएको पनि धेरै बर्ष भईसकेको बताउँदै विज्ञप्तीमा गुणस्तरीय स्वास्थ्य सेवा र अध्ययनका लागि प्रतिष्ठान नै उपयुक्त हुने उल्लेख गरिएको छ। मेडिकल कलेज भए त्रिभुवन विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने, हरेक निर्णयका लागि विश्वविद्यालयको भर पर्नुपर्ने र अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै एमविविएसको पढाई सुरु गर्नु पर्ने बाध्यकारी नियम रहेको विज्ञप्तीमा उल्लेख गरिएको छर तर स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कलेज र अस्पताल संगै सुरु गर्न पाईने, आफँैमा स्वायत्त सस्था हुने भएकाले कसैको निर्भर पर्न नपर्ने, अध्ययन अनुसन्धान गर्न पाईने, पाठ्यक्रम विकास गर्न पाईने व्यवस्था रहेको तीन जना पुर्व अध्यक्षहरुको ठहर छ। त्यसैले गेटालाई मेडिकल कलेजमा सिमित नराखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा गर्दै तत्काल अध्ययन र अस्पताल सुचारु गर्न विज्ञप्ती माग गरिएको छ। 
साथै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अभियानमा प्रदेश सरकार, सवै संघसस्था, नागरिक समाजकर्मी र सम्पुर्ण सुदूरपश्चिमवासीलाई आ–आफ्नो क्षेत्रबाट लाग्न समेत आग्रह गरिएको छ भने स्वास्थ्य विज्ञान प्रष्ठिान बनाउन वेवास्ता गरिए त्यस्का विरुद्ध संघर्षमा उत्रिने चेतावनी समेत दिईएको छ। वर्तमान शिक्षा मन्त्री गिरिराजमणी पोखरेल स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पर्ने बताउदै आएका र अहिले आएर शिक्षा मन्त्री भएपछि मेडिकल कलेज नै हुनुपर्न तर्क गर्न थालेका विषय पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। मन्त्रीको दोहोरो भुमिकाले कलेज र अस्पताल सञ्चालनमा थप ढिलाई हुने आशंका विज्ञप्तीमा व्यक्त गरिएको छ।

कमेन्ट लोड गर्नुस