सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अनियमित विल स्वीकृत गर्न मेयरको दवाव, हाकिम सरुवा मागेर हिडे

२०७६ असार १७, ०१:५४ खबर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयरले अनियमित काम गर्न दवाव दिएपछि प्रमुख प्रशासकिय अधिकृत सरुवा मागेर हिडेपछि बजेट अनिश्चित बनेको छ। मेयर कर्ण बहादुर हमालले प्रमुख प्रशासकिय अधिकृत सिद्धराज जोशीलाई गत वर्ष कानूनमा व्यवस्था भएको भन्दा बढि इन्धन लिएको विल स्वीकृत गर्न दवाव दिएपछि उनी सरुवा मागेर हिडेका हुन्। प्रमुख प्रशासकिय अधिकृत जोशीले मेयरले अनियमित तरिकाले लिएको इन्धनको विल पास नगरे देखाउने धम्की दिएपछि आफू सरुवा भएर हिडेको  बताए।

जोशीले मेयर हमालले गत वर्ष इन्धन वापतको एक लाख २० हजार बढि रकम स्वीकृत गर्न दवाव र धम्की समेत दिएको बताएका छन्। आफूले कानून अनुसार ती विल स्वीकृत गर्न नसकिने भनेपछि मेयरले यो कृष्णपुर हो देखाउँछु भन्दै धम्की दिएपछि सरुवा मागेर कृष्णपुरबाट हिडेको बताए। मेयरलाई अन्य अनियमित काम गर्न पनि पटक–पटक दवाव दिएको जोशीको आरोप रहेको छ।

जोशीको अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा सरुवा भएको छ। यता कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले भने आफूले प्रमुख प्रशासकिय अधिकृत जोशीलाई कुनै किसिमको धम्की नदिएको दावी गरे। उनले कृष्णपुरमा विभिन्न समुदायका मानिसको बसोबास रहेकाले सबैलाई मिलाएर लैजानुपर्छ भन्दा जोशीले अटेरी गर्दै आएको बताए।

प्रमुख प्रशासकिय अधिकृत जोशीलाई धम्की दिएको कुरा पनि साँचो नभएको हमालको दावी छ।  विवादपछि प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर गएपछि कृष्णपुर नगरपालिकाको बजेट अनिश्चित भएको छ। संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते भित्र अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ तर प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर गएपछि कृष्णपुर नगरपालिकाले बजेट ल्याउन सकेको छैन्। तर मेयर हमालले केही दिन भित्रै बजेट ल्याईने बताएका छन्।  
    

कमेन्ट लोड गर्नुस