सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : पाकिस्तानसंग न्यूजिल्याण्ड ६ विकेटले पराजित

। फोटो स्रोत ।
२०७६ असार १२, ०७:१५

बाबर अजमले उत्कृष्ट शतक प्रहार गरेपछि न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरी पाकिस्तानले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनल प्रवेशको आशा कायमै राखेको छ। न्यूजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो। जारी विश्वकपमा न्यूजिल्याण्डको सातौं खेलमा पहिलो पराजय हो। समान ७ खेलबाट न्यूजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ। पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशविरुद्धको बाँकी दुई खेलमा जित हासिल गर्नु सेमिफाइनलको दौडमा अनिवार्य हुनेछ। 

न्यूजिल्याण्डले दिएको २३८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती २ विकेट सस्तैमा गुमाएको थियो। फकर जमान ९ र इमाम उल हक १९ रनमा आउट हुँदा पाकिस्तान ४४–२ को अवस्थामा थियो। त्यसपछि बाबर र मोहम्मद अफिजले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे। न्यूजिल्याण्डका कप्तान केन विलियमसनको बलमा अनावश्यक शट खेल्ने क्रममा अफिज ३२ रनको स्कोरमा आउट भएपछि आएका ह्यारिस सोहेलसँग मिलेर बाबरले १२६ रनको शतकीय साझेदारी गरे। बाबरले १२७ बलमा १०१ रन बनाउने क्रममा ११ चौका प्रहार गरे। सोहेलले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । जितका लागि २ रन बाँकी हुँदा उनी रनआउट भएका थिए। 

बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र विलियमनसनले १–१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मध्यक्रमका कोनिल डी ग्राण्डहोम र जिम्मी निसमको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर २३७ रनको योगफल खडा गरेको थियो। पाकिस्तानी किशोर स्पिनर साहिन साह अफ्रिदीले उत्कृष्ट बलिङ गरी सुरुवाती ३ विकेट लिएपछि न्यूजिल्याण्डको पारी सुरुमै लडखडाएको थियो। 

मोहम्मद अमिर र सदाव खानले एक एक विकेट लिँदा न्यूजिल्याण्ड ८३–५ को कठिन स्थितिमा पुगेको थियो। तर, निसम र ग्राण्डहोमले छैटौं विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले सम्मानित योगफल बनाएको हो।  निसमले अन्तिम बलमा छक्का प्रहार गरी ११२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ९७ रन जोडे। निसमको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो। ६४ रन जोडेका ग्राण्डहोमले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
 

कमेन्ट लोड गर्नुस