सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोपाईको समयमा कैलालीका किसानलाई इन्धन पाउँनै मुस्किल

२०७६ असार ११, ०९:१० खबर संवाददाता

कैलालीका किसानलाई रोपाईको चटारो लागेका बेला माग अनुसारको ईन्धन नपाउँदा समस्या भएको छ। रोपाईको समयमा रासायनिक मलको अभावले समास्यामा परेका कैलालीका किसान इन्धन अभावले पनि थप आजित भएका हुन्। इन्धनको अभाव भएपछी दिनभरी रोपाईमा जुट्ने किसानहरु रातभर इन्धनका लागि लाइनमा बस्ने गरेका छन्। 
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ सिमरीकी किसान दुर्गा बम मल्लले इन्धनको समस्याले किसानहरू मारमा परेको बताइन्। ‘दिनभरी रोपाई गर्न खेतमा हुन्छौ,’ उनले भनिन्, ‘रातपरेपछि पेट्रोल पम्पमा लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ।’ 
कैलालीका अर्का किसान रोशन चौधरीले धान पश्चिम तराई क्षेत्रको प्रमुख बाली मात्रै नभई मुख्य आम्दानीको स्रोत समेत रहेको बताउँदै इन्धनको अभावले समस्या भएको बताए। ‘आवश्यकता अनुसार मल समेत पाएका छैनौँ,’ उनले भने, ‘अहिले आएर इन्धनको पनि अभाव भएपछि उत्पादन कसरी बढाउने ?’ 
यता नेपाल आयल निगम धनगढी वितरण केन्द्रका प्रमुख सर्पराज शर्माले भने सुदूरपश्चिममा इन्धनको कुनै समस्या नभएको दावी गरे। उनले सामान्य समय भन्दा अहिले खेतीपातीको समय भएकाले ३० प्रतिशत माग बढेको बताउँदै बुधवार मात्रै ४० ट्याङकर इन्धन वितरण गरेको दावी गरे। 
तर सुदूरपश्चिममा खेतीपातीको समयमा इन्धनको अभाव हुने पुरानै समस्या हो। ट्यांकर व्यवसायीको सिन्डिकेटले इन्धनको बेला–बेला अभाव हुँदै आएको छ। धान चुट्ने, गहुँ छर्ने र खेत जोत्ने बेलामा इन्धन अभाव हुँदै आएको छ। 
भारतबाट इन्धन लोड र ढुवानीमा कुनै समस्या नभए पनि विगत ९ वर्षदेखि ट्यांकर थप्न नदिएका कारण सुदूरपश्चिममा माग अनुसार आपूर्ति हुन नसकेको हो। नेपाल आयल निगम धनगढीका प्रमुख शर्माले अहिले इन्धन ढुवानी गर्ने जम्मा ६७ ट्यांकर रहेको बताए। उनले ट्याङकर थप्नका लागि पटक–पटक यसअघि पनि माग गरिसकेको बताउँदै फेरी लेखेर पठाउने बताए। 

 

कमेन्ट लोड गर्नुस