सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई एक लाख भन्दा कमका सवै योजना हटाउन प्रतिपक्षीको आग्रह

२०७६ असार ११, ०६:४३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा थुप्रै त्रुटी भएको भन्दै आन्दोलनमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा र सत्तापक्षको आज भएको वार्ता पनि विना निष्कर्ष टुङगिएको छ। बजेटमा असन्तुष्टि जनाउँदै आएको कांग्रेस र राजपासंग दोश्रो पटक भएको वार्ता पनि विना निष्कर्ष टुङगिएको हो। यसअघि ९ गते पनि सत्तापक्ष र प्रतिपक्षीविच भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको थिएन्। 

आज भएको छलफलमा प्रतिपक्षी दलहरुले बजेटमा भएका सवै त्रुटी हटाउन सरकारलाई आग्रह गरेका छन्। कांग्रेसका तर्फबाट वार्तामा सहभागी प्रदेश सभा सदस्य कर्ण मल्लले निकै असुन्तुलित किसिमले आएको बजेटलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरिएको बताए। ‘बजेटमा एक हजारदेखि एक लाख सम्म झण्डै ३ सय योजना अटाएकाले ति सवै योजना हटाउन समेत सरकारलाई आग्रह गरेका छौ,’ उनले भने, ‘झण्डै ७ अर्वको डल्लो बजेट फुटाउन, प्रदेशको समृद्धीसंग जोडिएका योजनाहरुलाई बजेटमा समावेश गर्न र बजेटमा भएका अन्य प्राविधिक त्रुटी हटाउन आग्रह गरेका छौ।’ 

वार्ताका लागि सरकारको पर्याप्त गृहकार्य नै नदेखिएकाले कुनै निष्कर्ष निकाल्न नसकिएको समेत उनले बताए। यता वार्तामा सरकारका तर्फबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले वार्ता सकारात्मक भएको र भोली फेरी एक पटक बसेर निष्कर्ष निकाल्ने बताए। प्रतिपक्षीको अवरोध कायमै हुने देखिएपछि भोली ३ बजेका लागि बोलाईएको प्रदेश सभा बैठक बस्नेमा पनि आशंका उब्जिएको छ। 
 

कमेन्ट लोड गर्नुस