सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठी विधेयक आज फिर्ता हुने

२०७६ असार १०, १०:४५

राष्ट्रियसभामा पेश भएको गुठी विधेयक आज फिर्ता हुने भएको छ। गते वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी विधेयक, २०७५ नागरिकको विरोधपछि मंगलबार फिर्ता हुन लागेको हो। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुनेछ। यो विधेयक गुठी परम्परा विपरित र यसबाट गुठी संरक्षण हुन नसक्ने भन्दै विधेयकका धेरै बुँदामाथि असहमति राख्दै स्थानीय तथा अभियन्ताले विरोध गरेका थिए।

संसद् नियमावली अनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ। गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले गएको असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गर्नुभएको थियोे।

मंगलबारको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ। 
 

कमेन्ट लोड गर्नुस