सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठी विधेयक फिर्ता प्रक्रिया अघि बढ्यो

। फोटो स्रोत ।
२०७६ असार ८, ०४:४४

गुठी विधेयक फिर्ता प्रक्रिया अघि बढेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनमार्फत विधेयक फिर्ता लिएको घोषणा गरेको तीन दिनपछि मात्रै शुक्रबार सरकारले राष्ट्रियसभामा औपचारिक पत्र पठाएपछि गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता प्रकृया अघि बढेको हो। 

सरकारले विधेयक फिर्ताका लागि औपचारिक पत्र पठाएको भए पनि राष्ट्रियसभा बैठक १० गते मात्रै आह्वान भएकाले त्यही दिन सम्बन्धित मन्त्रीले विधेयक फिर्ताको प्रस्ताव गरिनेछ। राष्ट्रियसभा विधेयक शाखाका प्रमुख सिर्जना बरालले संसदमा दर्ता भएर छलफलमा गइसकेको र विधेयकप्रति सांसदहरुले संशोधनको प्रस्ताव समेत राखिसकेकाले संसदको बैठकबाटै विधेयक फिर्ता हुने प्रावधान रहेको बताइन्।

राष्ट्रियसभा नियमावली २०७५ अनुसार संसदमा दर्ता भएको विधेयक फिर्ता लिनुपरे संसदबाटै लिनुपर्ने व्यवस्था छ। नियमावलीको दफा ११६ ले विधेयक पेश गर्नेले विधेयक फिर्ता लिन चाहेमा एक दिन अगावै संसदमा सूचना दिनुपर्ने उल्लेख छ। विधेयक फिर्ताका लागि शुक्रबार नै औपचारिक पत्र पुगिसकेको छ। 

यस्तै विधेयक संसदीय समितिमा विचाराधीन अवस्थामा पुगेको भए सम्बन्धित समितिले त्यही व्यहोराको प्रतिवेदन बैठकमा पेश गरेपछि मात्रै विधेयक फिर्ता हुनसक्ने व्यवस्था छ। अहिले विधेयक समितिमा छलफलमा रहेको र संशोधन प्रस्ताव समेत पेश भइसकेकाले अब सम्बन्धित समितिले विधेयक फिर्ताको व्यहोरासहितको प्रतिवेदन बैठकमा पेश गर्नेछ। त्यसपछि विधेयक फिर्ताका लागि बैठकमा निर्णयार्थ पेश भएपछि औपचारिक रुपमा विधेयक फिर्ता हुने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस