सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले चाहेका बेला मात्रै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ : प्रचण्ड

२०७६ असार ५, ०१:४० खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताएका छन्। बिहीबार प्रेस सङ्गठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको र यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुने बताए।

उनले पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेका विषय भएको भन्दै उनले यी विषय नयाँ नभएको बताए। दुई पार्टीको एकीकरण आफैमा महान् कुरा भएको बताउँदै उनले भने, राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण छ, पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेका अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जो कोहीले गरे पनि सैह्य हुंदैन। 

सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको समेत उल्लेख गरे। विप्लवले लिएको बाटो देश र उनका लागि पनि हितकर नहुने बताए। यस्तै मिडिया काउन्सिललगायतका विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिए। उनले विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमी र ल्याएका विधेयकबारे बुझाउन नसक्दा पनि समस्या आएको बताए।

एकीकरणका बाँकी कामबारे प्रधानमन्त्रीसँग लामो छलफल भएको र शनिबार सचिवालय बैठक बसी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड एवं एकताका अन्य बाँकी काम सम्पन्न गरिने समेत जानकारी दिए।

कमेन्ट लोड गर्नुस