सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसद्धारा १८३ जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन

। फोटो स्रोत ।
२०७६ असार ४, ०४:५३

कांग्रेस अनुशासन समितिले १८३ जनालाई पार्टीबाट हटाएको छ। २५ जिल्लाका १८३ जना नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको अभिलेखमा नाम नरहने गरि हटाएको अनुशासन समितिका सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए। उनका अनुसार स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरूका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा गरेको हो। तीनवटै निर्वाचन सकिएको झन्डै डेढ वर्ष बितेपछि अनुशासन समितिले २५ जिल्लाका १८३ नेता कार्यकर्तालाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाटै निष्कासन गरेको हो। 

अरू पार्टीको तर्फबाट उम्मेदवार बन्ने, बागी उम्मेदवारी दिने, तिनका प्रस्तावक र समर्थक स्वतः पार्टी साधारण सदस्य पनि नरहने वैधानिक व्यवस्था छ। तर, पनि बागी उम्मेदवार बन्नेलाई जिल्लाबाट संरक्षण हुने गरेको भन्दै अनुशासन समितिले उनीहरूको नाम समेत सार्वजनिक गरेको जनाएको छ। कारबाहीमा पर्नेहरू कांग्रेसविरुद्ध स्वतन्त्र बागी उम्मेदवारी दिनेदेखि एमाले, माओवादी, फोरम, राप्रपा, राजपा प्रवेश गर्नेहरूसम्म रहेका छन्।

यसअघि तीन चार पटक नै अनुशासन समितिले बागी, तिनका समर्थक र प्रस्तावबारेको जानकारी पठाउन निर्देशन दिए पनि अहिलेसम्म २५ जिल्लाले मात्र पठाएका छन्। ७७ मध्ये अझै ५२ जिल्लाबाट बागीको विवरण अनुशासन समितिमा आएको छैन।नपठाउने जिल्लालाई पनि अनुशासन समितिले अटेर गरी नाम नपठाएका जिल्लालाई तत्काल पठाउन पनि निर्देशन दिएको छ। 

पार्टी पदाधिकारीमा सभापति शेरबहादुर देउवाको डडेल्धुरा, नेता रामचन्द्र पौडेलको तनहुँ, महामन्त्री डा. शशांक कोइरालाको नवलपुर, पूर्णबहादुर खड्काको सुर्खेत, सहमहामन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोटसहित अरू प्रभावशाली नेताको जिल्लाबाट पनि बागीको विवरण आएको छैन। 
पार्टीबाट निष्कासित हुनेमा सबैभन्दा बढी तराई मधेसका जिल्लाका छन्। जसमा पर्साबाट ३२, दाङ र रुपन्देहीबाट २२–२२, बाँकेबाट ११, चितवनबाट १३, धनुषाबाट १०, झापाबाट ७ जना छन्।  कम निष्कासन हुनेमा संखुवासभा, रसुवा, पाँचथर, मोरङ, नवलपरासी, कास्कीबाट एकएकजना मात्र छन्। त्यस्तै, इलामबाट ४, कैलाली, रौतहट र सिरहाबाट २र२, कपिलवस्तु, सुनसरी र बाराबाट ३–३, पाल्पा ४, सुनसरी ३, लम्जुङबाट ५ जना निष्कासनमा परेका छन्। काठमाडौंबाट १५, ललितपुरबाट ९ र ओखलढुंगाबाट ८ जना निष्कासनमा परेका छन्। 

कांग्रेससँग एकीकरण गरेको तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार बनेको भन्दै २ जना निष्कासित भएका छन्। पर्साको पटेर्वा सुगौला गाउँपालिका ५ नम्बर वडाबाट फोरम लोकतान्त्रिकको उम्मेदवार बनेका कांग्रेस कार्यकर्ता बैजनाथप्रसाद महतोलाई पनि निष्कासन गरिएको छ। यस्तैै, बाँकेको जानकी गाउँपालिका १ को अध्यक्षमा लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेको भन्दै एनुलहक खाँलाई पनि निष्कासन गरेको छ। 

१२ सयभन्दा बढी उजुरीको अध्ययन गरिरहेको भीष्मराज आङ्देम्बे संयोजकत्वको अनुशासन समितिले दोस्रो चरणमा अन्तर्घात गरेकालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। प्रमाणसहित अन्तर्घात गरेको भन्दै उजुरी परेकामाथि स्पष्टीकरण सोध्ने तयारी समितिको छ। त्यसपछि उनीहरूको स्पष्टीकरणपछि कारवाही  गर्ने तयारी समितिको छ।

निष्कासित हुनेमा धेरै जसो वडामा कांग्रेसको उम्मेदवारीविरुद्ध बागी दिने, एमाले, फोरम समाजवादी, माओवादी, राप्रपा, राजपा प्रवेश गरी उम्मेवदार बन्ने रहेका छन्। त्यस्तै जिल्लाका कोषाध्यक्ष भएका, नगरमा सभापति भएका, क्षेत्रीय प्रतिनिधिसहित पनि रहेका छन्। 

कमेन्ट लोड गर्नुस