सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट :दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा

। फोटो स्रोत ।
२०७६ असार ४, ११:५४

आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ। बर्मिङघमको एजबास्टोन रंगशालामा न्यूजिल्याण्डको सामना गर्दा उसका लागि त्यो खेल गर या मरको अवस्थामा हुनेछ। विश्वकपको सुरुवाती पाँच खेलबाट एकमात्र जित हासिल गरेको गएको संस्करणको सेमिफाइनलिष्ट दक्षिण अफ्रिका यस संस्करणमा सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने दवाबमा छ। गएको संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो।  

१० टोली सम्मिलित विश्वकपको लिग चरण राउण्ड रोविन प्रणालीमा खेलाइएको छ र बाँकी  चार खेलमा उसले शतप्रतिशत जित हासिल गरेमात्र शीर्ष चार प्रवेशको सम्भावना रहन्छ। पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएपछि दक्षिण अफ्रिकाले जितको लय समाएको अपेक्षा गर्न सकिन्छ। तर, उच्च लयमा रहेको न्यूजिल्याण्डविरुद्धको खेल उसलाई अफगानिस्तान जत्तिको सहज निश्चित रुपमा हुने छैन। 

न्यूजिल्याण्डको बलिङ आक्रमण र शीर्ष क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन अहिलेसम्म उत्कृष्ट हुँदै आएको छ। मध्यक्रमका ब्याट्सम्यानले धेरै खेल्ने अवसर पाएका छैनन्। बंगलादेशविरुद्धको खेलमा उसको मध्यक्रम असफल देखिएको थियो। दक्षिण अफ्रिकाका लागि खुशीको खबर के हो भने ह्याम्स्ट्रिङको चोटका कारण ३ खेल खेल्न नसकेका लुंगी एनगिडीले पुनरागमन गर्ने भएका छन्। दक्षिण अफ्रिको बलिङ आक्रमण उनको उपस्थितिले केही सुधारिने अपेक्षा गरिएको छ। 

एजबास्टोनको मौसम बुधबार बिहान हल्का वर्षा भए पनि दिनभर सफा रहने अनुमान गरिएको छ। यस मैदानमा भएका पछिल्ला ४ खेलमा सुरुवाती ब्याटिङ गर्ने टिमले जितेको छ।

कमेन्ट लोड गर्नुस