सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय मालवाहक गाडी चेकजाँच नगर्न निर्देशन

। फोटो स्रोत ।
२०७६ असार २, ०४:०१

गृह मन्त्रालयले भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न निर्देशन दिएको छ। ट्राफिक प्रहरीले भारतीय सवारीलाई चेकजाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको हो।

गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको गृहमन्त्री रामबहादुर थापाले बताए। उनका अनुसार यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरिएको छ। गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबेगर भारतीय सवारी नरोक्न निर्देशन दिइएको छ। गृहको पत्रमा तेस्रो देशबाट नेपाल भित्रिने ठूला मालवाहक ट्रक र कन्टेनरबारे केही पनि उल्लेख गरिएको छैन।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रहरीको काम मालवाहक सवारी रोक्ने नभएकाले गृहले क्षेत्राधिकारबाहिर काम नगर्न निर्देशनमात्र दिइएको बताए। भारतबाट आउने सवारीलाई सशस्त्र प्रहरीले भन्सारमा जाँच गर्दै आएको छ। प्रवक्ता सुवेदीले भारक्षमता मापन गर्ने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र तस्करी नियन्त्रण गर्ने काम अर्थ मन्त्रालयको भएकाले गृहले त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए।

गृहले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भने यसबारे कुनै जानकारी गराएको छैन। प्रवक्ता सुवेदीले भने दुबै मन्त्रालयलाई बोधार्थ लेखिएको दाबी गर्दै पत्रमा ती मन्त्रालयलाई बोधार्थ नलेखिएको बताए।

सो निर्देशन तराईका २२ जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा लागू हुने गृह मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस