सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०७६ असार १, ०७:५९

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कदै छन्। जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले दिए। शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान १० बजेर २५ मिनेटमा काठमाण्डौ पुग्ने छन्।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए। दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए। यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेको थियो।
 

कमेन्ट लोड गर्नुस