सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा विवेकशील पार्टीद्धारा कर्णालीका मुख्यमन्त्रीलाई रातो गाडी उपहार

२०७६ जेठ २८, ०६:०६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साझा विवेकशील पार्टीले ’रातो गाडी’ उपहार दिएको छ। मंगलबार प्रदेशका मन्त्रीमा विलासी गाडीको मोह बढेको भन्दै साझा विवेकशील पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहालले मुख्यमन्त्री शाहीलाई एक थान डमी रातो गाडी प्रदान गरेका हुन्।

आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनी रहेको प्रदेशमा सरकारका मन्त्रीले विलासी सवारी साधनमा सयर गर्न थालेको भन्दै विवेकशीलले मुख्यमन्त्रीलाई डमी ’रातो गाडी’ उपहार प्रदान गरेको हो। चालु आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले विकास बजेट रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेकोमा सो को विरोधस्वरुप विवेकशील पार्टीले सांकेतिक रुपमा मुख्यमन्त्रीलाई रातो गाडी उपहार दिएको हो। 

जनताको करबाट ल्याइएको बजेट विकासमा लगानी गर्नुको साटो मन्त्रीले महँगो गाडीमा खर्च गर्न थालेको भन्दै आफूले त्यसको विरोध गरेको विवेकशीलले जनाएको छ। विवेकशीलले विकास बजेट विकास निर्माणमै लगानी गर्नसमेत प्रदेश सरकारलाई आग्रह गरेको छ। 

यस्तै, आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटमा युवालाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन र उत्पादनमुलक कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्नसमेत माग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस