सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षिका पक्राउ

२०७६ जेठ २१, ०४:४६

रोल्पामा कुटपिट गरि विद्यार्थीहरुलाई घाइते गराएको आरोपमा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ को भानु आधारभुत विद्यालयकी शिक्षीका लक्ष्मी पुनलाई पक्रउ गरिएको प्रहरीले जनाएको छ।

जेठ १२ गते ढिलोगरी विद्यालय आएको भन्दै कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने १४ जना विद्यार्थीलाई भाँचिएको कुर्सीको खुट्टाले कुटपिट गरेको विद्यार्थीहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले दिएको जानकारी अनुसार घाइते गराएको भन्दै पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो।

प्रधानाध्यापक झगबहादुर भण्डारी गाउँपालिकाको एसआईटी तालिममा होलेरी गएका बेला निमित्त प्रधानाध्यापकको जिम्मेवारी शिक्षिका लक्ष्मीलाई दिइएको थियो। आरोपितलाई अभद्र व्यवहारअन्तर्गतको कानुनी कारबाहीका लागि जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस