सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अझै सुरु भएन

२०७६ जेठ २१, ०७:१८ खबर संवाददाता

गेटा मेडिकल कलेजमा आधारभुत आवश्यकता अनुसार पुर्वाधार निर्माण भएपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि प्रक्रिया अझै सुरु हुन सकेको छैन्। मेडिकल कलेज सञ्चालनका लागि आधारतभुत पुर्वाधारहरु तयार भईसकेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि सम्वन्धित निकायले प्रक्रिया अगाडी बढाउन नसकेको हो। सुरुवातमा २०७७ सालदेखि नै अस्पताल र पठनपाठन सुरु गर्ने लक्ष्य राखिएपनि आवश्यक प्रक्रिया अगाडी नबढ्दा अव २०७८ भित्र पनि कलेज सञ्चालन हुनेमा आशंका बढेको छ। 
अहिले गेटामा २९ वटा भवनको निर्माण भईरहेको छ। पहिलो चरणमा निर्माण थालिएका संरचनाहरुमा ७० प्रतिशत निर्माणको काम सकिएको छ जस्ले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक आधारभुत पुर्वाधारहरु पुरा भएको हुन्छ। मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ। कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुई वटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा अधिकांश निर्माण कार्य पूरा भइसकेको छ। यस्तै पाँच तलाका दुई वटा छात्रावास भवनको काम पनि आधाभन्दा वढी सकिएको छ। चिकित्सकको आवास गृहको रुपमा आठ वटा भवन निर्माणको काम पनि तिव्र गतिमा भईरहेको छ।

अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माणको काम भईरहेको छ। भौतिक संरचना निर्माणका लागि हालसम्म झण्डै ४ अर्बको ठेक्का भइसकेको छ। संरचना निर्माणले गति लिएका बेला मेडिकल कुन रुपमा सञ्चालन गर्ने विषयले भने निर्णय लिन नसकेको गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका कार्यकारी निर्देशक भिमवहादुर साउदले बताए। ‘शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गेटा मेडिकल कलेज नयाँ ढंगबाट लैजाने बताउँदै आएको छ तर अहिले सम्म यकिन भएको छैन्।’ उनले भने। पुर्वाधार निर्माणको अवस्था हेर्दा २०७८ सालभित्रै अस्पताल सञ्चालन र पठनपाठन सुरु गर्न सकिने अवस्था भएपनि त्यस्का लागि आवश्यक प्रक्रिया भने अगाडी बढ्न नसकेपछि अझै पछाडी धकेलिने सम्भावना रहेको छ। सुरुमा ऐन बनाएर अनि त्यसको मोडालिटीको टुङगो लगाउन पर्ने हो तर अहिले सम्म ऐन बनाउने कार्य नै सुरु हुन सकेको छैन्। 

गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार पहिलो चरणमा मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने कि प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने वा अन्य विकल्प खोज्ने सोही विषयमा निर्णय लिनुपर्ने देखिएको छ। ‘सुरुमा अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजमा पठनपाठन सुचारु हुने छ।’ उनले भने। तर अस्पतालका लागि आवश्यक उपकरण खरिद, जडान लगायतका सबै प्रक्रियाको सुरुवात अहिलेदेखि नै नभए मेडिकल कलेज सञ्चालनमा अझै बर्षाै लाग्ने देखिएको छ। तर त्यस्का लागि यस क्षेत्रका सरोकारवाला नियकाले पनि चाँसो दिएका छैनन्। संघीय सरकारको मातहतमा रहेको भन्दै प्रदेश सरकारले पनि कुँनै चाँसो दिएको छैन्। प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले अहिले सम्म प्रदेश तहबाट केही छलफल नभएको स्विकार गरे। 

विभिन्न बाधाका विच अलपत्र परेको गेटा मेडिकल कलेजको विवाद समाधान गर्दै पुर्वाधार निर्माणको सुरुवात गर्न यस क्षेत्रका वासिन्दाले ठुलो संघर्ष गर्नुपरेको थियो। अहिले आवश्यक जनशक्तिको अभाव र सुविधा सम्पन्न अस्पतालको कमिकै कारण सुदूरपश्चिम स्वास्थ्य सेवामा परनिर्भर हुँदै गएको छ। यस्तो अवस्थामा मेडिकल कलेज सञ्चालन भए धेरै समस्या समाधान हुने विश्वास राखिएको छ। यता मेडिकल कलेज पुर्वाधार समितिले भने यो बर्षमा सबै पुर्वाधार निर्माण सम्पन्न गरि त्यसपछि मात्रै ऐन बनाउने र त्यस्को प्रारुप तय गर्नतिर पहल गर्ने जनाएको छ
 

कमेन्ट लोड गर्नुस