सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहालवाला मुख्यसचिवमाथि पहिलो पटक भ्रष्टाचार मुद्दा दायर

२०८१ असार ९, ०५:०९ खबर संवाददाता

काठमाडौँः मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याल सहित ११ जना र एक कम्पनी विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। सञ्चार मन्त्रालयको सचिव हुँदा अर्यालले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अख्तियारले अभियोग लगाएको छ। बहालवाला मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको यो पहिलो पटक हो।

यस प्रकरणमा सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई प्रतिवादी बनाइएको छ। त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे र केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ।

यसैगरी स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मा विरुद्ध पनि मुद्दा दायर गरिएको छ। स्टिकर खरीदमा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ। यसमा संलग्न रहेको आरोप लागेका ११ जना र एउटा कम्पनी प्रिन्टसेलबाट जनही ६ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ असुल उपर गर्न माग दाबी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस