सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’

२०८१ असार ५, ०७:१५ रासस

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताएका छन्। आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग जोड्नसके समृद्धिमा योगदान पुग्ने बताए। 

मन्त्री तामाङले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र रोजगारसहितको आर्थिक समृद्धिका लागि संस्थानको महत्वपूर्ण भूमिका रहेको बताए। 'नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश हो। यी सबैको संरक्षण गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसकार्यमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको छ नै, त्यसमा संस्थानको भूमिका थप महत्वपूर्ण छ। सोहीअनुसार आफ्नो दायित्व निर्वाहका लागि आग्रह गर्दछु', मन्त्री तामाङले भने। 

उनले मन्त्रालयको संस्कृतिसम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएकाले नेपाल र नेपालीको पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणका लागि संस्थानले थप प्रभावकारी भूमिका खेल्न आवश्यक रहेकामा जोड दिए। विसं २०१८ सालमा राष्ट्रिय नाचघरका रूपमा स्थापित उक्त संस्था सञ्चार संस्थान ऐन, २०२८ अनुसार २०२९ साल असार ५ गते सांस्कृतिक संस्थानमा रूपान्तरण गरिएको थियो। 

कमेन्ट लोड गर्नुस