काठमाडौँ र ल्हासाबीच बससेवा सञ्चालन गर्न चीन सकारात्मक
काठमाडौँः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन्।
जनवादी गणतन्त्र चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी सोमवार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याएको उल्लेख गरे।
“नेपाल–चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “मेरो यस भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप गहिराइ र सम्मानलाई थप उचाइ प्रदान गरेको छ।”
नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बससेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको, भैँसीको मासु, वनस्पतीजन्य औषधि उत्पादन, तरकारी तथा फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न आफूले अनुरोध गर्दा चिनियाँ पक्ष सकारात्मक देखिएको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।