सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बिषाणु ऋ’ उपन्यास सिड्नीमा लोकार्पित

२०८० फाल्गुन १५, १०:२३ खबर संवाददाता

धनगढीः सिड्नीमा विगत पाँच बर्षदेखि बसोबास गर्दै अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास ‘बिषाणु ऋ’ को सिड्नीमा सोमबार म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा लोकार्पण भएको छ।

ब्ल्याकटाउन सिटि काउन्सिलले सहयोग गरेको सो कार्यक्रममा लेखक प्रज्ञा पनेरु, गजलकार ज्ञानुवाकर पौडेल र त्रिभुवन विश्वबिद्यालय नेपाली भाषाकि प्राध्यापक गार्गी शर्माले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए। ‘बिषाणु ऋ’ भित्र रहेका विषयबस्तुमाथि केन्द्रित भएर लेखक प्रज्ञा पनेरुसँग लेखक सानु घिमिरेले पुस्तक वार्ता गरेकि थिइन।

जसमा पुस्तक भित्रका विभिन्न घटनाक्रमहरु, लैगिंक चेतका कुराहरु र समग्रमा लेखकको भनाइ र दृस्टीकोण प्रस्तुत भएको थियो। पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा समालोचक सुरेन्द्र दवाडीले यो पुस्तक उत्तर आधुनिकीकरणको उत्कृष्ट नमुना भएको बताउँदै पुस्तकभित्र प्रस्तुत भएको मनोबैज्ञानिक पक्ष, साइकोथेरापीको प्रयोगदेखि नेपाली चर्चित साहित्यकार पारिजातको लोकप्रिय उपन्यास ‘शिरिषको फूल’ को पात्रलाई पुनर्लेखन गरि लेखिएको भागलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए।

सिड्नीका अधिकांश लेखक तथा साहित्यप्रेमी उपस्थित भएको सो कार्यक्रममा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाकी निवर्तमान अध्यक्ष ममता तिवारी, अस्ट्रेलियन भुटानी एसोसिएसनका सल्लाहकार तथा भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगेल, गजलकार ज्ञानुवाकर पौडेल तथा पूर्व प्राध्यापक गार्गी शर्माले लेखक प्रज्ञा पनेरु तथा उनको कृति बिषाणु ऋलाइ शुभकामना दिएका थिए। सो कार्यक्रमलाइ नारिनिकुंज अस्ट्रेलियाकि पूर्वअध्यक्ष तथा लेखक प्रतिज्ञा अधिकारीले सञ्चालन गरेकि थिइन।

कमेन्ट लोड गर्नुस