सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सांसद भन्छन्, ‘उपकरण खरिदमा ठूलो घोटला हुँदैछ’

अस्पाल उपकरण खरिदमा आर्थिक घोटलाको आंशका

२०८० फाल्गुन १, १२:२३

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा अस्पताल सरसफाई उपकरण खरिदमा ठूलो आर्थिक चलखेल हुने गरी काम भइरहेको विषय बाहिर आएको छ।

५१ देखि ५२ लाखको बीचमा पाइने उपकरण ८ करोड ३९ लाखमा खरिद गर्न टेण्डर नै आह्वान भएपछि आर्थिक चलखेलको आंशका झनै बढेको हो। अस्पताल सरसफाई उपकरण खरिदका लागि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेको टेण्डरविरुद्ध उजुरी समेत परेको छ। सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिमा सो उपकरण खरिदबारे उजुरी परेपछि समितिले छानविन नै थालेको हो।

अस्पतालमा आवश्यक नपरेको उपकरण खरिद गर्न जबरजस्ती अस्पताललाई माग फारम भर्न लगाएको समेत खुलेको छ। सामाजिक विकास समिति तथा प्रदेश सभा सदस्य प्रकाश बमले ठूलो आर्थिक घोटाला हुने गरी उपकरण खरिद गर्न एउटा कम्पनीसँग सम्झौता नै गर्ने तयारी भइरहेको बताए। ‘बजारमा ५१ देखि ५२ लाखको बीचमा पाइने मेसिन ८ करोड ३९ लाखमा खरिद गर्न टेण्डर गरिएको छ। एउटा मात्रै कम्पनीको कागजपत्रको छलफलमा टेण्डर आव्हान गरिएको उनले बताए।

साथै समितिमा छानविन भइरहेकै समयमा केन्द्रले ठेक्का सम्झौता गर्न नहुने भएपनि सप्लायर्ससंग सम्झौता समेत गर्ने तयारी हुँदैछ।’ केन्द्रले चारवटा अस्पतालका लागि खरिद गर्न लागेको फोहरमैला व्यवस्थापन उपकरणमा आर्थिक अनियमितता हुने गरी काम अघि बढेको भन्दै प्रदेश सभा सांसदले विरोध गरेका छन्। यसभित्र ठूलो घोटाला भएको र लेखा समितिले पनि चासो लिएकोले प्रदेश सरकारले पनि यस विषयमा छानविन गर्नुपर्ने कतिपय सांसदको माग छ।

एउटाले सोझै ठेक्का पाउने गरी काम गरिएको छ। त्यति मात्र नभई ठेक्का सम्झौता पनि ३ प्रतिशत विलोमा मात्रै गरिएको छ। तर प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले अन्तराष्ट्रिय मापदण्ड अनुसार लागत अनुमान गरी बोलपत्र आव्हान गरिएको दाबी गर्दै आएको छ। एक उपकरणमा दुई करोडदेखि दुई करोड ५० लाखसम्म लागत लाग्ने दावी केन्द्रले गर्दै आएको छ।

केन्द्रले महाकाली प्रादेशिक अस्पताल, टीकापुर, बैतडी र बझाङ जिल्ला अस्पतालका लागि सो उपकरण खरिद गर्न टेण्डर गरेको छ। टीकापुर अस्पताल र महाकाली अस्पतालले सो उपकरण गतवर्ष नै खरिद गरी सञ्चालनमा छ। ती अस्पताललाई थप उपकरण आवश्यक नै छैन्। ‘हामीले अस्पतालहरुको पनि अनुगमन गरेका थियो, तर ती अस्पतालमा यसअघि नै उपकरण जडान भइसकेकाले नयाँ उपकरणको आवश्यकता छैन्।

जबरजस्त ती उपकरण राख्न लगाउने काम हुँदैछ’, सामाजिक विकास समिति तथा प्रदेश सभा सदस्य बमले भने। टीकापुर अस्पतालमा २०७९ कात्तिकदेखि फोहरमैला व्यवस्थापन उपकरण सञ्चालनमा छ। तर स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले बोलपत्र आव्हान गरेर प्राविधिक मूल्यांकन समेत गरी सप्लाईको ठेक्का काठमाडौंको एमएस लाइभ लाइन ट्रेड इन्टरनेश्नल प्राइभेट लिमिटेडलाई दिएको खुलेको छ।

स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्यालयले कम्पनी छनौट भए पनि सम्झौता नभएको बताए। ‘प्रदेशको सामाजिक विकास मन्त्रालयले नै यसका लागि बजेट विनियोजन गरेको हो, जुन उपकरणका लागि भनेर बजेट विनियोजन भएको छ त्यसैका लागि भन्दै टेण्डर आह्वान गरिएको हो।’ सामाजिक विकास मन्त्रालयले चारवटा उपकरण खरिद गर्न ८ करोड ३९ लाख बजेट विनियोजन गरेकोमा कम्पनीसँग ७ करोड ३१ लाख ७२ हजारमा ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ।

फागुन १० गतेभित्र सम्झौता गरिसक्नुपर्ने समयसीमा छ। सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले यो विषय पछिल्लो समय निकै चर्चामा आएको बताए। ‘यो विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ। बाहिर आएजस्तो विषय हो भने यसलाई रोक्ने काम हुन्छ।’ उनले भने, ‘त्यो भदौ महिनामा टेण्डर भएको रहेछ, एउटा ल्याबको चाँहि खारेज नै गरियो। अस्पताल सरसफाई उपकरणको पनि व्यापक कुरा उठेको छ। म पनि बुझ्दैछु यदि त्यो कुरा हो भने यसलाई पनि खारेज गरिन्छ।’ अस्पताल सरसफाई उपकरण खरिदकै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको विषय खुल्न आएको छ।

कमेन्ट लोड गर्नुस