पोखराका सहकारी पीडितले रवि लामिछाने विरुद्ध पनि दिए उजुरी
काठमाडौँः पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बचतकर्ताले रवि लामिछाने विरुद्ध पनि उजुरी दिएका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सोमवार पूरक निवेदन आएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए। “सूर्यदर्शन सहकारीको ठगीका विषयमा आज पूरक जाहेरी परेको हो,” डीएसपी विकले भने।
सूर्यदर्शन सहकारीको ठगी प्रकरण सम्बन्धी मुद्दा जिल्ला अदालत, कास्कीमा विचाराधीन छ। यसअघि गत भदौमा प्रहरीमा उजुरी परेको थियो। प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकीलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो। त्यतिवेला सहकारीका अध्यक्ष थानबहादुर बुढामगर, पूर्वअध्यक्षहरू गितेन्द्रबाबु राई (जीबी) र भूपेन्द्र राई लगायतलाई विपक्षी बनाइएको थियो।
उनीहरूमध्ये कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पूर्व अध्यक्ष जीबी राईसहित फरार छन्। उनीहरू विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरीसकेको छ।
जीबी राई अध्यक्ष रहेको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन सहकारीको रकम लगानी गरिएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्जालन गर्दा रवि लामिछाने प्रबन्ध निर्देशक थिए। लामिछाने सहकारीमा आवद्ध नभए पनि सहकारीबाट ल्याएको पैसा उनी प्रबन्ध निर्देशक रहेको टेलिभिजनमा लगानी गरिएकाले उजुरी दिइएको पीडितले बताए।