सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्री राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा धनगढीमा उत्सव गरिने

२०८० पुष २५, ०८:१८ खबर संवाददाता

धनगढीः भारतको अयोध्यामा माघ ८ गते गरिने राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा धनगढीमा पनि उत्सव गरिने भएको छ।

धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद्ले शोभायात्रा निकाल्ने भएको हो। मन्दिरको प्राणप्रतिष्ठा गरिँदा टेलिभिजनबाट हुने प्रत्यक्ष प्रशारणको धनगढीका विभिन्न तीन स्थानमा ठूलो पर्दामा हेर्न मिल्ने व्यवस्थासमेत गरिन लागेको हो। विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तका अनुसार धनगढीको रामजानकी मन्दिर, ओम शान्ति भवन र लक्ष्मीनारायण मन्दिरमा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइने छ।

सोही दिन  दिउँसो १२ बजे धनगढीमा शोभायात्रा निकालिने र साँझ दिप प्रज्ज्वलन गरिने पन्तले बताए। बुधवार धनगढीको श्रीकृष्ण मन्दिरमा भएको विश्व हिन्दु परिषद्को भेलाले शोभायात्रा र दिप प्रज्ज्वलनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको छ। श्रीराम मन्दिर प्राणप्रतिष्ठाको दिन उत्सव मनाउन सबै पक्षसँग छलफल गरेर कार्यक्रम भव्य बनाइने भेलाबाट निर्णय भएको छ।
 

कमेन्ट लोड गर्नुस