सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरकी शीतल विरुद्ध प्रशासनमा उजुरी,अनुचित लेनदेनमा फसाएको आरोप

पीडितहरु दिनेश सञ्चारगृहमा
पीडितहरु दिनेश सञ्चारगृहमा
२०८० पुष २२, ०६:३८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ बस्ने शीतल केसी विरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता भएको छ। केसीले अनुचित लेनदेनमा फसाएको भन्दै टीकापुरकै पाँच जना पीडितले आज (आइतवार) उजुरी दर्ता गराएका हुन्।

शीलत केसीले अनुचित लेनदेनमा फसाएको भन्दै पाँच जनाले उजुरी दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। शीतल विरुद्ध टीकापुरकै लक्ष्मी शाह, सुजाता बोहरा, कृष्टिना बम, गोपी सार्की र कोकिला सावँदले उजुरी दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए। शीतल केसीले जो व्यक्तिलाई पैसा दियो उसबाट खाली चेक माग्ने गरेको समेत पीडितहरूको गुनासो छ। केसीले खाली चेक मात्रै नभएर दृष्टि बन्धकमा घर र जग्गा राख्न लगाउने र अग्रिम २० प्रतिशत व्याज लिएर पैसा दिने गरेको भन्दै पीडित महिलाहरूले प्रशासनमा उजुरी नै दर्ता गराएका छन्।

केसीबाट लिएको पैसा जति तिर्दा पनि सावाँ घट्नुको सट्टा बढ्दै जाने र लगेको चेक बाउन्समा हालेर प्रहरीमा थुनेर असुल गर्छु भनेर धम्की दिँदै आएको समेत उजुरकर्ता महिलाहरूको गुनासो छ। केसीबाट २०७८ मा एक लाख ऋण लिएको जानकी गाउँपालिका–१ की कोकिला सावँदले २ लाख २२ हजार तिर्नुपरेको गुनासो गरेकी छन्। शीतलले एक लाखको कागज बनाएर ८० हजार मात्रै दिएर प्रभु बैँकको एक लाखको चेक अग्रिम मागेको उनले बताइन्। ८० हजारको बदला एक लाख ९२ हजार बुझाउँदा पनि जिल्ला प्रशासनमा उजुरी हाल्ने डर देखाएर थप ३० हजार लिएपछि मात्रै आफ्नो चेक फिर्ता गरेको कोकिलाले बताइन्।

यस्तै, २०७८ मै केसीबाट ८० हजार ऋण माग्दा साढे चार तोला सुन धरौटी राख्न लगेको कोकिलाले बताइन्। एक लाख ५० हजारमा सुन धरौटी राखेर ५० हजार कोकिला र एक लाख आफैले लगेको दाबी छ। धेरै परिवारलाई फसाएको भन्दै पीडित महिलाहरू जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन्।

तर, केसीले भने आफ्ना विरुद्ध लाग्ने कसैलाई नछोड्ने चेतावनी दिएकी छन्।

कमेन्ट लोड गर्नुस