राष्ट्रियसभाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौँः राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट बैठक सुरु भएको हो।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन्। राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन मंगलवार र बुधवार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच मात्र छलफल भएको थियो। कांग्रेस र माओवादीका नेताहरुको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित बैठक बोलाउने सहमति भएको थियो।
आगामी फागुन २० मा एमालेका (एक मनोनित) सहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ। जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ। आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।