गोदावरी नगरपालिकाको प्रशासनिक भवन फेरि उद्घाटन नगर्न आग्रह
धनगढी: कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवनको फेरि उद्घाटन नगर्न आग्रह गरिएको छ। २०७८ चैत १४ तेघरीमा निर्मित नयाँ प्रशासनिक भवनको उद्घाटन भएकाले दोहर्याएर उद्घाटन नगर्न नगरप्रमुख वीरेन्द्र भट्टलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। बुधवार गोदावरी नगरपालिकाकी नगर उप-प्रमुखसहित २१ जना जनप्रतिनिधिले नगरपालिका भवन पुनः उद्घाटन नगर्न आग्रह गरेका हुन्।
नगरप्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन भई सकेकाले पुनः उद्घाटन नगर्न आग्रह गरिएको छ। पत्रमा 'अघिल्लो स्थानीय सरकारले गरेको काम फेरि दोहर्याएर गर्नु कानुन सम्मत उचित नभएकाले उक्त कार्य नगर्न नगराउन ध्यानाकर्षण पत्र पेश गर्दछौँ,' उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्रमा उप-प्रमुख शारदादेवी रोकाया, ५ नम्बर वडाका वडा अध्यक्ष सुद्धिराम चौधरी, ६ नम्बर वडाका अध्यक्ष जग्गुराम चौधरी, ७ नम्बर वडा अध्यक्ष कलावती साउँद र ८ नम्बरका अध्यक्ष गोविन्द चौधरीसहित १७ जना वडा सदस्यले हस्ताक्षर गरेका छन्।