सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लागुऔषध मुद्दाका कैदीबन्दीले कारागार भरिदै

२०८० मंसिर २९, १०:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र लागुऔषधको समस्या झनझन बढ्दै गएको छ। प्रदेशभित्र चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्र लागुऔषधसहित तीन सय पाँच जना पक्राउ परेका छन्।

दुई सय दुई जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। सुदूरपश्चिममा लागुऔषध मुद्दाका कैदीबन्दीले कारागार भरिन थालेको छ। जिल्लास्थित कारागारमा अन्य कैदीबन्दीको तुलनामा लागुऔषध मुद्दाका कैदीबन्दीको संख्या सबैभन्दा बढी देखिएको हो। लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेका छन्। लागुऔषध सेवनमा विशेष गरी युवा र किशोर/किशोरीको संख्या सबैभन्दा बढी देखिएको छ।

लागुऔषध मुद्दामा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर कागागार चलान हुनेको संख्या उच्च छ। प्रहरीको तथ्यांक हेर्दा केही वर्षयता सुदूरपश्चिममा लागुऔषधको जालो विकराल रूपमा फैलँदै गएको छ। अदालतमा दर्ता हुने लागुऔषधसम्बन्धी मुद्दा र लागुऔषधसहित पक्राउ पर्ने व्यक्तिको संख्या बर्सेनि बढ्दो क्रममा देखिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरतबहादुर बोहराले पाँच वर्षयताका लागुऔषधसम्बन्धी मुद्दा र पक्राउ परेकाको तथ्यांकको विश्लेषणका आधारमा सुधार केन्द्र आवश्यक रहेको निष्कर्षमा प्रहरी पुगेको बताए। सुदूरपश्चिममा गत वर्ष मात्र लागुऔषधसम्बन्धी पाँच सय ४० वटा मुद्दा अदालतमा दर्ता भएका छन्।

ती मुद्दामा आठ सय ६० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। जसमध्ये ६६ जना महिला छन्। लागुऔषध मुद्दामा १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू बढी छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार यहाँका कारागारमा रहेका कैदीबन्दीमध्ये आधा लागुऔषधसम्बन्धी मुद्दाका छन्। लागुऔषधका अधिकांश मुद्दा कैलाली, कञ्चनपुरका छन्। खुला सिमानाका कारण सीमावर्ती भारतीय बजारबाट लुकीछिपी लागुऔषध ल्याइने गरिन्छ।

चरेसबाहेक सबै लागुऔषध भारतबाट आउने गरेको प्रहरीले जनाएको छ। सुदूरपश्चिममा लागुऔषधका दुर्व्यसनी बर्सेनि बढ्न थालेपछि प्रहरीले धनगढीमा लागुऔषध दुर्व्यसनी सुधार केन्द्र सञ्चालन गर्न लागेको छ। मदिरा र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको हो।

कमेन्ट लोड गर्नुस