सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्टमाथि पदिय मर्यादा उल्लंघन गरेको आरोप

प्रदेश ७ को दोस्रो अधिवेशन सुरु 

२०७५ जेठ २, ०६:४८

प्रदेश नम्बर ७ को दोस्रो संसद अधिवेशन सुरु भएको छ। सभामुख अर्जुन बहादूर थापा गृह जिल्लामा भएपछि उपसभामुख निर्मला बडाल जोशीले बुधवार दोस्रो संसद अधिवेशनको पहिलो बैठक संचालन गरिन्। 
दोस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पुर्व बजेट छलफल प्रस्ताव पेश गरेका छन्। 
यो संगै बुधवारको बैठकमा बोलेका प्रदेश सभा सदस्यहरुले बैशाख ३० गते आएको हावाहुरी र पहाडी जिल्लामा भएको हिमपातका कारण जनधनको ठुलो क्षती भएको तर्फ सरकारको ध्यानाकर्षण गराउदै तत्काल राहत प्रदान गर्न माग गरेका छन्। 
‘बैशाख ३० गते आएको हावाहुरी र पहाडी जिल्लामा परेको हिमपातका कारण पुगेको क्षतीको विवरण संकलन गरी तत्काल राहतको कार्यक्रम ल्याउन जोडदार माग गर्दछु।’ संसद बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेश सभा सदस्य बिरमान चौधरीले भने। 
यस्तै प्रदेश ७ को प्रदेश सभा बैठकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारका तर्फबाट गम्भिर त्रुटी भएको भन्दै आलोचना भएको छ। भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रियताको खिल्ली उडाईएको भन्दै आलोचना भएको हो। 
संसद बैठकमा बिशेष समय लिएर बोल्दै सत्ताधारी माओवादी केन्द्रका प्रदेश सभा सदस्य मानबहादूर धामीले नेपालको झण्डाको रुप फेर्नु र जनकपुरलाई भारतमा फिर्ता लैजाने भारतिय सांसदको अभिव्यक्ती आउनुप्रति आफुले घोर भत्सर्ना गर्न चाहेको बताए। 
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रणबहादूर रावलले पनि नाकावन्दी लगाएर नेपाली जनतालाई दुःख दिने भारतिय प्रधानमन्त्री मोदीलाई नागरीक अभिनन्दन गराएको भन्दै बिरोध जनाए। उनले दुनियाँले नेपाली सेनाको महिमा गाएका बेला भारतका प्रधनमन्त्रीको सुरक्षाका लागि भन्दै उतैबाट सेनाको पल्टन आएको घटनामा नेपाल सरकार चुप लागेर बसेकोमा आपत्ती जनाए। 
‘भारतको सेना लेफ्ट राईट गर्दै नेपाल आयो, नेपालको झण्डाको आकार प्रकार फेरियो, हुदा हुदा जनकपुर भारतमा गाभ्ने कुरा आयो, यति हुदा पनि सरकार केहि बोल्दैन, यो देशमा सरकार छ की छैन? खोई हाम्रो राष्ट्रियता? राष्ट्रवादीको ख्याती कमाएका प्रधानमन्त्री कहाँ छन?’ रावलले प्रश्न गरे। 
यस्तै प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पदिय मर्यादा नराखेको बिषय पनि संसद बैठकमा उठेको छ। प्रदेश ७ को संसदले मर्यादा क्रम नमिलेको भन्दै संकल्प प्रस्ताव पास गरेका बेला मुख्यमन्त्री भट्टले संघिय सरकारका मन्त्रीलाई भेटेर प्रदेशका समस्या र गुनासा पोखेर आफै पदिय मर्यादा उलंघन गरेको आरोप लागेको हो। 
‘हामीले प्रदेश सभाबाट मर्यादा नमिलेको भन्दै संकल्प प्रस्ताव पास गराउने तर हाम्रै मुख्यमन्त्रीले मन्त्रीहरुलाई गएर ज्ञापन बुझाउने? यो सरासर पदिय मर्यादा उलंघन हो यसलाई सच्चाईनुपर्छ। ’नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्ण बहादूर मल्लले भने। 
उनले ज्ञापन नै बुझाउने भए प्रधानमन्त्रीलाई बुझाउन आग्रह गरे। 
मंंगलवार काठमाडौमा मुख्यमन्त्री त्रिलोचन भट्टले खानेपानी मन्त्री बिना मगरलाई ज्ञापन बुझाएका थिए। 
बुधवार बसेको दोस्रो संसद अधिवेशनको पहिलो बैठकमा बोलेका प्रदेश सभा सदस्यहरुले आगामी आर्थिक बर्षका लागि ल्याईने बजेट जनमुखी हुनुपर्ने धारणा पनि राखेका थिए । 

कमेन्ट लोड गर्नुस